कुवेतभर आइतबारदेखि २० दिन पूर्ण कर्फ्यु

काठमाडौँ :— कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै कुवेतभर आइतबार स्थानीय समय ४ बजदेखि २० दिनसम्म पूर्ण कर्फ्यु लगाउने भएको छ
कुवेत सरकारको गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १० मेदेखि ३० मे २०२० सम्म पूर्ण कर्फ्यु लागू गर्ने निर्णय गरेको थियो । कर्फ्युको अवधिमा कोपरेटिभ सोसाइटी,खाद्यान्न आपूर्ति गर्ने लगायत ग्यास सिलिन्डर वितरकहरू खुला रहनेछन् ।
उक्त निर्णयानुसार बेलुका ४:३० देखि ६:३० सम्मको समयमा आफू बसोबास गर्ने क्षेत्रभित्र मात्र कार वा अन्य सवारीसाधनको प्रयोग नगरी कुवेत सरकारले तोकेको स्वास्थ्य सम्बन्धी पूर्वसावधानीका सर्तहरू तथा मापदण्डहरू (विशेषत सामाजिक दूरी कायम गर्ने तथा नाक र मुख छोप्ने मास्कको प्रयोग गर्ने) ध्यानमा राखी सो समयमा हिँड्डुल गर्न भने सकिनेछ ।
कर्फ्यूको अवधिमा कुवेत सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धी निर्देशनहरू तथा तोकेका मापदण्डहरूको पूर्ण पालन गर्न नेपाली राजदूतावास कुवेतले त्यहाँ रहेका नेपालीहरूलाई विज्ञप्ति जारी गर्दै अनुरोध गरेको छ ।
कुवेतमा हालसम्म ७ हजार ६ सय २३ जनालाई कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४९ जनाको मृत्यु भएको छ ।