प्रदेश २ वाट आवत जावत वन्द गर्न बाग्मती सरकारको माग

हेटौडा :- वाग्मती प्रदेश सरकारले प्रदेश २ सँग जोडिएका सम्पूर्ण नाका सिल गर्न आग्रह गरेको छ । हेटौंडामा मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश २ सँग जोडिएको मकवानपुरको चुरियासहित सम्पूर्ण नाकालाई तत्काल सिल गर्न संघीय सरकारलाई आग्रह गरेको हो ।
तराईका जिल्लाहरू बारा, पर्सा र रौतहटमा कोरोना संक्रमणको दर बढेसँगै वाग्मती प्रदेशमा यात्रुहरूलाई भित्रिन नदिनका लागि तत्काल प्रदेशको नाका सिल गर्न आग्रह गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले जानकारी दिए । ‘प्रदेश सरकारसँग नाका सिल गर्ने अधिकार छैन । त्यसकारण हामीले संघीय सरकारलाई आग्रह गरेका हौं,’ उनले भने । उनका अनुसार विभिन्न सवारीमार्फत तराईका जिल्लाबाट वाग्मती प्रदेश भित्रिनेको संख्या बढिरहेको छ । जोखिम नरहोस् भन्न प्रदेश सरकारले संघीय सरकारलाई यस्तो आग्रह गरेको उनले स्पष्ट पारे ।
तराईका जिल्लाबाट गाडी र पैदल यात्रुलाई मकवानपुर प्रवेशमा रोक लगाइएको छ । सोमबार दिउँसो बसेको कमान्ड पोस्टको बैठकले प्रदेश २ र मकवानपुरको सीमा चुरिया नाका भएर भित्रिन रोक लगाएको हो । छिमेकी जिल्लामा कोभिड–१९ का संक्रमित बढेपछि यस्तो निर्णय गर्नुपरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले बताए । उनका अनुसार खाद्यान्न तथा अत्यावश्यक सामग्री बोकेका गाडी मकवानपुरको राजमार्ग भएर जान पाउने तर रोकेर यात्रु ओराल्न नपाउने निर्णय भएको छ । चुरिया भएर मकवानपुर प्रवेश भएको वा नभएको अनुगमन गर्न जनप्रतिनिधिसहितको अनुगमन समिति गठन गरिएको छ ।
चुरियामा थप सुरक्षाकर्मी परिचालन गरिने भएको छ । बैठकले लकडाउनलाई थप कडा बनाउने निर्णयसमेत गरेको छ ।