मकवानपुर उच्च जोखिममा, प्रशासनको कमजोर उपस्थिती

हेटौंडा : मकवानपुरको छिमेकी जिल्लाहरुमा कोेरोनाको संक्रमण बढ्दै जाँदा मकवानपुर पनि उच्च जोखिममा परेको छ । बागमती प्रदेशको राजधानी रहेको हेटौंडामा बिहान लकडाउनको कुनैपनि प्रभाव देखिँदैन । जिल्ला समन्वय समितिको नेतृत्वमा बारम्बार कमाण्ड पोष्टको वैठक बसेपनि बिहानको समयमा हुने भीडलाई व्यवस्थापन गर्न सकेको छैन ।
मकवानपुरमा प्रहरी र प्रशासन तथा हेटौंडा उपमहानगरपालिकाको कमजोर उपस्थिती रहेको देखिन्छ । यता उद्योग वाणिज्य संघले पनि आफ्ना सदस्यहरुलाई निर्देशन दिएर उपयुक्त समयमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सकेको छैन । कमाण्ड पोष्टको वैठकले लकडाउन कडाई गर्ने धेरै पटक निर्णय गरेपनि मर्निङवाक, ईभिनिङ वाक समेत रोक्न सकेको छैन । उसो त हेटौंडाका जनता पनि अटेर देखिन्छन् । हेटौंडाका राप्तीरोड, स्कुल रोड र कान्तिराजपथमा विहानको समयमा मेला नै लाग्ने गरेको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल भने सिमामा कडाई गरेको बताए । उनले आन्तरिक रुपमा केहि सहज रहेको भएता पनि चुरियामाई नाका कडा गरेको दाबी गरे । प्रजिअ नेपाल नाकामा कडाई गरेको भन्दै आन्तरिक लकडाउनको बारेमा भने पन्छिन खोजे, उनले भने “चुरिया नाकामा हेर्नुस, अन्त कुरा पछि गरौंला । ”
हेटौंडामा लकडाउन कडा नभएको र उच्च जोखिममा हेटौंडाका स्थानीय तह र प्रशासनले बलियो उपस्थिती नजनाएका भन्दै हेटौंडामा स्थानीयवासिहरुले सामाजिक सञ्जालमा चर्को विरोध गरिरहेका छन् ।