भारतबाट १ लाख मजदुर नेपाल भित्रँदै,कोरोना संक्रमण भयावह हुने त्रास

काठमाडौं :- भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झन्डै १ लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन् । सम्भवतः दुई–तीन साताभित्र उनीहरू नेपाल आउन सक्ने जनाइएको छ ।
उनीहरू नेपाल भित्रिएसँगै सरकारले बोर्डर क्षेत्रमा व्यवस्थित क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्न नसकेमा नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुन सक्ने चिकित्सकले बताएका छन् । भारतले आफ्ना विभिन्न राज्यमा १५ वटा रेलसेवा सञ्चालनमा ल्याएको छ ।
व्यवस्थापन नभए संक्रमण भयावह हुन सक्ने
विशेषगरी, नेपाली मजदुर र आफ्नै देशका मजदुरलाई घर फर्काउन भारतले रेलसेवा सुरु गरेको हो । भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
नेपालका विभिन्न जिल्लाबाट भारतका उत्तर प्रदेश, विहार, उडिसा, गुजरात र महाराष्ट्रमा रोजगारीका लागि गएका नेपाली मजदुरले स्वदेश फर्कन लखनउ र नेपालनजिक पर्ने विभिन्न स्थानसम्मको टिकट बुकिङ गर्न थालेका छन् । गुजरातको अन्दाबादमा रहेका नेपाली मूलका चिकित्सक डा। सागर विश्वकर्माका अनुसार भारतले केही समयका लागि रेलसेवा खुलाएलगत्तै धेरै नेपाली स्वदेश फर्कने तयारीमा छन् ।
‘धेरै नेपालीले लखनउसम्मको टिकट बुकिङ गरिसकेका छन् । अबको दुई–तीन साताभित्र उनीहरू नेपाल आउने तयारीमा छन्,’ डा। विश्वकर्माले राजधानीसँग भने । उनका अनुसार ती नेपाली लखनउ र अन्य स्थानको टिकट काटेर जनकपुर, नेपालगन्ज र वीरगन्ज हुँदै नेपाल प्रवेश गर्ने तयारीमा छन् ।
कोरोना भाइरससम्बन्धी अध्ययन गरिरहेका नेपाली चिकित्सक डा। रमेशकुमार आचार्यले भारतबाट तीन साताभित्रमा १ लाख मजदुर नेपाल भित्रने तयारी गरिरहेको बताए । उनले स्वदेश फर्कन खोज्ने ती नेपाली मजदुरलाई सीमा क्षेत्रमा नै क्वारेन्टाइन र आइसोलेसन बनाएर व्यवस्थापन गर्न नसकिएमा नेपालमा संक्रमणको दर भयावह रूपमा बढ्ने बताए । अहिले नेपालमा कोरोना भाइरसको संक्रमण अत्यधिक रूपमा बढिरहेको छ । पछिल्लो समयमा भारतीय नाका क्षेत्रमा नै संक्रमण भएका व्यक्तिको संख्या बढेको छ ।
डा। आचार्यले नेपाल सरकारले अहिलेदेखि नै भारत सरकारसँग समन्वय गरेर नेपाल फर्कन खोज्नेहरूको अद्यावधिक विवरण लिएर व्यवस्थापनको तयारी थाल्नुपर्ने बताए । डा। आचार्यका अनुसार नेपाल फर्कन खोज्ने ती सबै मजदुर बिना परीक्षण नेपाल आएमा अत्यधिक जोखिम बढ्नेछ । उनीहरूले भारतबाट भाइरसको संक्रमण लिएर फर्केको हुन सक्ने भएकाले विशेष सतर्कता अपनाएर उनीहरूलाई निर्बाध रूपमा प्रवेश गर्न दिन नहुने डा। आचार्यले बताए । ‘सरकारले उनीहरू फर्कने समयमा केही दिन नाका खोलेर उनीहरूको उद्धार र व्यवस्थापन गर्नुपर्छ । व्यवस्थापन हुन नसकेर उनीहरू रातारात लुकीछिपी नेपाल प्रवेश गरेमा स्थिति भयावह हुन सक्छ,’ डा। आचार्यले राजधानीसँग भने ।
सरकारले भने विषयमा खासै तयारी गरेको छैन । भारतबाट नेपाली सीमामा आएका नेपालीलाई भारत सरकारले नै क्वारेन्टाइनमा राख्ने र नेपालबाट भारत जान लागेका भारतीयलाई नेपालकै क्वारेन्टाइनमा राख्ने गरी दुई देशबीच सहमति भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारीले यसअघि दुई देशबीच भएको सहमतिअनुसार नेपालको नाकामा आएका नेपालीलाई भारत सरकारले नै क्वारेन्टाइनमा राख्नुपर्ने बताए । तर, भारतको रेलसेवा सुरु भएसँगै नेपाल फर्कने तयारीमा रहेका भनिएको नेपालीबारे कुनै योजना नबनेको सहसचिव अधिकारीले बताए ।
‘यो गम्भीर विषय हो । त्यसरी नेपालीहरू फर्कने अवस्था आएमा सरकारले उचित व्यवस्थापन गर्नैपर्छ । यसबारे अब हामी गम्भीर छलफल थाल्ने छौं,’ मन्त्रालयका प्रवक्ता अधिकारीले भने ।आजको राजधानी दैनिकमा खवर छ ।