आजको लकडाउन : हेटौंडा बजार सुनसान, अटेर गर्ने १८८ सवारी नियन्त्रणमा (फोटो फिचर)

हेटौंडा : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि बढ्न थालेपनि बाग्मती प्रदेशको राजधानी हेटौंडामा उच्च सतर्कता अपनाइएको छ । मकवानपुरसँग सिमा जोडिएको प्रदेश नं. २ का बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा कोरोना संक्रमण बढेपछि हिजो बुधबारबाट मकवानपुर जिल्लाभरी कडा निगरानी गरिएको छ ।
केही दिन अधिसम्म पनि भिडभाड रहेको हेटौंडा बजार आज बिहिबार भने सुनसान जत्तिकै देखिएको छ । प्रदेश २ बाट बाग्मती प्रदेशमा प्रवेश गर्ने मुख्य नाका चुरियामाईमा निगरानी बढाई अत्यावश्यक बाहेकका कसैलाई पनि जिल्ला प्रवेश गर्न दिइएको छैन भने जिल्ला भित्र पनि अनावश्यक रुपमा हिड्ने सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ । कोरोनाको जोखिम बढ्दै जादा पनि लकडाउनलाई अटेर गर्दै हिड्ने मकवानपुरका १ सय ८८ सवारीसाधनहरुलाई आज प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेको छ ।
जसमा १ सय ५२ वटा स्कुटर तथा मोटरसाइकल, २१ वटा कार लगायतका साना गाडी र १५ वटा अटो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सुजन पाठकले जानकारी दिनुभयो । अत्यावश्यक काममा हिडेकाहरुलाई भने उनिहरुको कामका आधारमा छाडिएको पनि उहाँले बताउनुभयो । यस्तै बिहिबार सम्ममा नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।
फोटो फिचर :