सुटकेसमा सुतेर यात्रा गरेको घटनाले मानवअधिकारको मुद्दा उठ्यो

नयाँदिल्ली : सुटकेसमा सुतेको बालकलाई भारतीय एक महिलाले घिच्याउँदै गरेको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको भोलिपल्ट मानवअधिकार आयोगले चासो देखाएको छ ।
लकडाउनका कारण लाखौंको संख्यामा भारतीय आप्रबासी कामदारहरु सयौँ किलोमिटरसम्म पैदल यात्रा गर्न बाध्य छन् । आयोगले पन्जाब र उत्तर प्रदेशका मुख्यसचिव साथै आग्राका जिल्ला अधिकारीलाई उक्त घटनालाई लिएर पत्र नै लेखेको छ ।
भिडिओमा देखाइए अनुसार आग्राको मुख्य सडकमा ती महिलाहरु पैदल यात्रा गरिरहेका थिए । जहाँ एक बालक पैदल हिँड्न नसकेर सुटकेसमाथि निदाइरहेका छन् । १ मिनेट भन्दा केही लामो भिडिओ स्थानीय पत्रकार सुरेन्द्र प्रताप सिंहले खिचेको भारतीय मिडियाले जनाएका छन् ।
भिडिओमा देखिएका अधिकांश महिलाहरु आप्रबासी कामदार भएको बुझिएको छ । उनीहरु पन्जाबबाट उत्तर प्रदेशका लागि पैदल यात्रा गरिरहेका थिए । अर्थात् उनीहरु ८०० किलोमिटर लामो पैदल यात्रा गरिरहेका थिए ।
भारतको मानवअधिकार आयोगले उक्त घटनालाई मानवअधिकार उल्लंघन भएको जनाएको छ । साथै यसलाई लिएर लकडाउनमा खाद्यान्न अभाव भएकाहरुका लागि राहत तत्काल वितरण गर्नुपर्ने पनि बताइएको छ ।
यस्ता घटनाले स्थानीय अधिकारीहरुको लापरवाही प्रष्ट रुपमा देखाएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै यस्ता घटनामा स्थानीय अधिकारीको दृष्टि नपुग्नु अनुपयुक्त भएको बताइएको छ ।