लकडाउनको ५५ औं दिन : मकवानपुरमा लकडाउन उल्लङ्घन गर्ने ५२०० बढी सवारी कारवाहीमा

हेटौंडा : विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले लकडाउन लागु गरेको आज आइतबार ५५ दिन भएको छ । गत चैत्र ११ गतेदेखी सुरु भएको लकडाउन आज ५५ औं दिनसम्म आइपुग्दा मकवानपुर जिल्लामा लकडाउनलाई नै उल्लङ्घन गर्दै चलाइएका ५ हजार २ सय भन्दा बढी सवारी कारवाहीमा परेका छन् ।
आज आइतबारसम्ममा लकडाउन उल्लङ्घन गर्दै चलाइएका स्कुटर, मोटरसाइकल, कार, अटो लगायतका कुल ५ हजार २ सय ५ सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता सुजन पाठकले जानकारी दिनुभयो ।
आजमात्र १ सय ९६ सवारी साधन कारवाहीमा परेको उहाँले बताउनुभयो । जसमा १ सय ६७ वटा मोटरसाइकल र २९ वटा अटो रहेको छ । नियन्त्रणमा लिइउको सवारीसाधानको आवश्यक कागजपत्र चेक गरेर केही समयपछि छाड्ने गरेको प्रहरी प्रवक्ता पाठकले बताउनुभयो । नियन्त्रणमा लिइएका सवारीबाट कुनै प्रकारको राजस्व संकलन नगरिएको उहाँको भनाइ रहेको छ ।
यस्तै प्रहरीले आजसम्म लकडाउन उल्लङ्घन गर्ने १ सय १४ जना ब्यक्तिलाई पनि नियन्त्रणमा लिएर सामान्य कारवाही गरी छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लकडाउनको समयमा पनि अनावश्यक रुपमा हिड्ने ति ब्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कोरोना भाइरसको बारेमा जानकारी दिने साथै हात धुन लगाउँदै छाडिएको प्रहरी प्रवक्ता पाठकले जानकारी दिनुभयो ।
नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ । तर बामती प्रदेशको राजधनी हेटौंडामा भने सर्बसाधारणहरु भने सामान्य दिनहरुमा जस्तै विभिन्न बहाना बनाएर हिडडुल गर्नेहरुको भने कमी हुन सकेको छैन । यो समाचार तयार पार्दासम्म नेपालमा २ सय ९२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २ जनाको मृत्यु भइसकेको छ ।