दुर्व्यहारमा परेका ल्याब प्रमुख भन्छन्, ‘सायद इन्स्पेक्टरकै मिलेमतोमा भएको हुनुपर्छ’

बाग्मती खबर
४ जेष्ठ २०७७, आईतवार १७:२६

शुक्रबार १२ बजे हेटौडाबाट म नागढुंगा आइपुगेको थिएँ । प्रयोगशालामा रिएजेन्ट सकिएको थियो । म रेजिएन्जेट लिन आएको थिएँ। मसँग गाडीमा मुख्यमन्त्री कार्यलयले दिएको सरकारी पास थियो । मैले पास देखाए । इन्स्पेक्टरले मलाई गाडी साइड लगाउनुहोस् भन्दै तपाई सामान किन्न हिडेको कागज देखाउनुहोस् भन्नुभयो । मैले भने, ‘म आफै डाइरेक्टर हो, अरु स्टाफ पठाए पो सामान यसरी लिएर आइज भन्ने हो । आफै हिडेपछि चाहिएको जति आफै हेरेर लिएर फर्किने हो । अरु स्टाफ आएको भए पो यति सामान ल्याउनुहोस, उति सामान ल्याउनुहोस् भन्नु ।’

मैले कार्ड पनि देखाएँ । मैले त्यति भनिसकेपछि उनले तपाईको हिड्ने पास व्यक्तिको पास पनि देखाउन भने । मैले गाडीको पास छ, व्यक्तिको पास त छैन भने । मैले सामाजिक विकासमन्त्रीसँग कुरा गरे । त्यहाँ टेष्ट भएन भने त गाली खाने मैले हो । मन्त्रीज्यूले सचिवलाई भन्नुहोस भन्नुभयो । त्यतिन्जेल ती केटाहरु आएका थिएनन् । राज कार्की कि के भन्ने इन्स्पेक्टर रहेछन्, शुक्रबार १२ बजेको हो, त्यो घटना, त्यहाँ बुझ्दा ड्युटीमा को थियो थाहा भैहाल्छ । राज कार्की भन्ने सुनेको छु ।

तिनले चाहिँ केटाहरु लिएर आएका रहेछन्, पछि लाइदिएको चाहि राज कार्कीले नै हो । त्यो घटना हुन्जेल उनी त्यतै हिडिरहेका छन् । केटाहरुले क्यामराले खिच्दा उनी नदेखिने गरी मेरो गाडी वरिपरी घुमिरहेका थिए । केटाहरुसँग मिलेर बसिरहेका थिए । इन्स्पेक्टरले ती केटाहरुले खानतलासी गर्न भनेको हो कि होइन थाहा छैन् । तर, उनीहरुसँगै बसेर सल्लाह गरिरहेका थिए । त्यो सायद इन्स्पेक्टरकै मिलेमतोमा भएको हुनुपर्छ ।

इन्स्पेक्टरले पहिले रियाक्ट गर्‍यो । इन्स्पेक्टर र ती केटाहरु साथीजस्तै सँगै बसिरहेका थिए । एकैछिनमा ती केटाहरु चम्किएर म भएको ठाउँमा आए । चम्किएर आएपछि तथानाम बोल्न थाले । तँ यो पढ्या, त्यो पढ्या । यति समयको सवारी पास रु महिनादिनको सवारी पास कसरी पाइस् ? तथानाम भन्र थाले।

मैले भने म जतिबेला पनि हिड्नुपर्ने हुन सक्छ । शनिबार भन्न पनि पाउदिन् । शनिरबार काम पर्‍यो भने पनि मैले हिड्नुपर्छ । त्यही भएर मैले मुख्यमन्त्री कार्यलयबाट एक महिनाको लागि सवारी पास लिएको हुँ । सार्वजनिक बिदाका दिन पनि त स्याम्पल लिनुपर्ला नि ?

त्यति भनिसक्दा उनीहरू झन आक्रोशित भए । मलाई तथानाम मुख छाड्न थाले । यदि मैले झोला नदेखाइदिएको भए मलाई कुटेर हस्पिटलाइज गर्थे । उनीहरु पूरै तयारी अवस्थामा थिए । त्यो झोला मैले मेरो सेक्युरिटीको लागि खोलिदिएको हो । ती इन्स्पेक्टर र दुई वटा प्रहरी उनीहरुसँगै छन् । म त उनीहरुलाई बोलाउन माग गर्छु । मेरो त्यो चाहिँ माग छ । ती इन्स्पेक्टरलाई बोलाइ दिएदेखि किन यस्तो शब्द बोले भनेर सोध्न मन छ । तिनले नै उकासेको होजस्तो लाग्छ ।

तिनीहरुले जे—जे भने त्यो मैले नमानेको भए, कुटपिट हुन्थ्यो । अन्तिममा इन्स्पेक्टले भने, ‘तपाईको गाडी तोडफोड हुन लागेको छ, गाडी भगाउनुहोस् ।’ फर्काएर लानुहोस् भन्ने इन्स्पेक्टर हुन् । तपाई अहिल्यै गाडी फर्काउनुहोस्, तोडफोड हुन लागिसकेको भनेर मलाई गाडी फर्काउन लगाए । इन्स्पेक्टरलाई मैले तिनीहरुको ग्याङकोजस्तो मान्छे देखे ।

त्यसपछि मार्लान भन्ने भयो । मैले गाडी फर्काएर भगाए । नागढुंगाको पुगेको मान्छे फर्केर फेरि राति ८ बजे हेटौंडा पुगे । दुःख त मलाई बाँकी नराखेरै दिए । म यो कुराले यति प्रताडित भएकी के बोलौं, कहाँ गएर बोलौं । यस्तो बोर भयो । तर, फेसबुकबाट एकदमैं भाइरल भैहालिएछ ।

उनीहरुले मेरो झोलामात्रै खोल्न लगाएनन्, त्यहाँ भएको भित्री वस्त्र समेतको भिडियो खिचे । आधा घण्टा जति मलाई तिनीहरुले तनाव दिएपछि अनि म फर्किए । त्यो भिडियोमा महिला भनिएको छ, ती महिला मेरो ल्याबको मेडिकल टेक्नोलोजिष्ट हुन् । ती महिला भनेर कुनै गैर महिला होइनन्, कोरोनाविरुद्ध काम गरिरहनु भएको मेरो ल्याबको अफिसर हो । यस्ता फटाहाहरुले गर्दा सही पत्रकारिता पनि बदनाम हुँदैं गएको छ । यसमा तपाईंहरु डटेर लाग्नुपर्छ । जसले वास्तविक पत्रकारिता गर्नुभएको छ, त्यसमा त आँच पुग्यो नि यस्ता घटनाले । तर, त्यो घटना हेरेर बस्ने प्रहरीलाई पनि छानविन गरिनुपर्छ ।

मैले मन्त्रीज्यूलाई फोन गर्दैगर्दा झन उग्र भएर मसँग आइलागे । मैले मन्त्रीसँगै कुरा गर्नुहोस न भन्दा झन एक्साइटेड भएर ममाथि जाइलाग्न थाले । मलाई भाग्नुभन्दा अर्को कुनै विकल्प रहेन । थप्पड त एकपटक पनि हानेनन्, उनीहरुको प्लान चाहिँ म नभागेको भए, धुटै पारेर पिट्ने रहेछ ।

(वागमती प्रयोगशालाका निर्देशक कार्कीसँगको कुराकानीमा आधारित)

हेल्थ आवाजको सहयोगमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*