थाहानगरका कोरोना संक्रमित वालकको आफन्तलाइ देखिएन कोराना

बाग्मती खबर
५ जेष्ठ २०७७, सोमबार २०:४६

हेटौडा:_मकवानपुरको थाहानगर घरभइ काठमाडौंस्थित सतुंगलमा डेरा गरी बस्ने कोरोना संक्रमित बालकको आफन्त कसैलाई पनि कोरोना संक्रमण नभएको पाइएको छ ।

आइतबार राति १ बजे थाहा नगरपालिकाका संक्रमित बालकको घर र मामाघरका आफन्तलाई हेटौँडा–४ को आइसोलेसन वार्डमा राखेर स्वाब संकलन गरिएको थियो । उनका ११ जना आफन्तको स्वाब संकलन गरेर कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो ।

थाहा नगरका मेयर लवशेर विष्टले सात वर्षका बालकमा गत २ जेठमा कोरोना संक्रमण पुष्टि भए पनि उनका आफन्त सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनले रिपोर्ट नेगेटिभ आएसँगै ती सबै आफन्तलाई आइसोलेसनबाट डिस्चार्ज गरेर स्वास्थ्य सुरक्षा अपनाएर थाहा नगर लगिने बताए ।

त्यसैगरी हेटौँडा– ४ स्थित श्रमिक मावि कर्रामा सञ्चालन गरिएको आइसोलेसनमा रहेका सबै ४१ जनाको पनि रिपोर्ट नेगेटिभ आएको इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए । उनका अनुसार आइसोलेसन वार्डबाट स्वाब लिइएकोमा १४ जना भारतबाट फर्किएका, एकजना प्रहरी, एकजना ज्वरोको बिरामी र दुईजना सडकमा जीवन व्यतीत गर्दै आएका पनि थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*