४ घण्टा काम गरेर राहत प्याकेज

हेटौंडा : हेटौंडा उपमहानगरपालिका ९ नं. वडा कार्यालयले लकडाउनका कारण २ छाक खान समेत अभाव भएका वडा भित्रका नागरिकहरुलाई ४ घण्टा काम लगाएर राहत प्याकेज बाड्न थालेको छ । वडाका नागरिकहरुबाट वडा भित्रकै विकास निर्माणको काममा सहभागी गराई वडाले १५ किलो चामल सहितको राहत प्याकेज दिन थालेको हो ।
लकडाउन लम्बिदै गइरहेको र काम गर्ने वातावरण नभएको अवस्थामा वडाका कुनै नागरिकलाई पनि खानको लागि समस्या नहोस र वास्तविक खान नपाउनेले नै राहत पाउन भन्ने उद्देश्यले यस किसिमको योजना ल्याइएको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो । विहान ६ बजेदेखी १० बजेसम्म ४ घण्टा काम गर्नुपर्ने उहाँले बताउनुभयो ।
वडाले उपमहानगरपालिका र एकद्धार प्रणाली अन्तर्गत विभिन्न संघसंस्थाबाट आएको राहत पहिलेपनि दुई चरणमा वितरण गरेको र केही बाँकी रहेको राहत वितरण गर्न सबैलाई अपुग भएकाले काम गर्न आउने स्थानियलाई राहत प्याकेज वितरण गरिएको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

काम गर्न आउने स्थानियहरुलाई सुरक्षित रहेर काम गर्न सुझाव तथा मास्क वितरण गर्नुहुँदै वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी ।
प्रत्येक टोल विकास संस्थाबाट ४ जनाका दरले काम प्रदान गर्ने निर्णय अनुसार शनिबारबाट काम प्रदान गरिएको टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यदुवंश खतिवडाले बताउनुभयो । सामाजिक दुरी कायम गरी शनिबार १२ जना र आइतबार १७ जना स्थानियले काम गरेर राहत प्याकेज प्राप्त गरेका छन् ।
हाल वडाले उपमहानगरपालिकाको ५ लाख रुपैयाँ र वडाको ३ लाख रुपैयाँ गरी कुल ८ लाख रुपैयाँ लगानीमा मदन बाल उद्यान निर्माण गरिरहेको छ । राहतका लागि काम गर्न आउने स्थानियहरुलाई सोही उद्यानमा सरसफाइको काम गर्न लगाइएको छ ।