हेटौँडा सिमेन्ट उद्योगमा लफडा,मजदुरले मागे महाप्रबन्धकको राजिनामा

बाग्मती खबर
२१ जेष्ठ २०७७, बुधबार ०९:५८

हेटौडा:- सरकारको पूर्ण स्वामित्व भएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक मजदुर विवाद उत्पन्न भएको छ ।

आफ्नो स्वार्थपूर्तिका लागि उद्योग र मजदुरको हितविपरीत काम गरेको आरोप लगाउँदै आएका मजदुर संगठन र महाप्रबन्धकबीच विवाद चर्किएको हो । विवाद चर्किएसँगै मंगलबार १४ बुँदे माग पेस गरेको संगठनले सात दिनभित्र माग पूरा नगरे महाप्रबन्धक प्रेमशंकर सिंहले राजीनामा दिनुपर्ने र आठौैँ दिनदेखि उद्योग प्रवेशमा रोक लगाउँदै बहिष्कार गरिने अल्टिमेटम–पत्र सिंहलाई बुझाएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल कारखाना श्रमिक संघ र समग्र उद्योग ट्रेड युनियन इकाइ समिति हेटौँडा सिमेन्ट उद्योगले सिंहलाई बुझाएको अल्टिमेटम–पत्रमा मजदुरका माग र सुझाबलाई सात दिनभित्र सम्बोधन नगरे राजीनामा दिनुपर्ने र राजीनामा नदिएमा आठौँ दिनदेखि उद्योग प्रवेशमा रोक लगाउँदै बहिष्कार गरिने उल्लेख छ ।

संगठनहरूले बुझाएको माग र सुझाबपत्रमा आफ्ना ५ वटा खानी बन्द गरी अन्यत्रबाट चुनढुंगा खरिद गर्ने प्रयत्न रोक्नुपर्ने, उद्योगलाई आवश्यक कच्चा पदार्थ गुणस्तरीय चुनढुंगा, कोइला, जिप्सम, आइरन ओर र मेसिनरी जगेडापुर्जाको सहज आपूर्ति गर्नुपर्ने, मन्त्रालयसँग गरिएको करार सम्झौता र व्यवस्थापन सम्झौताअनुरूप उद्योगको उत्पादन बढाउनुपर्नेलगायत उल्लेख छ ।

यता उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले मजदुरले राजीनामा माग गरेर आफूलाई केही फरक नपर्ने दाबी गरेका छन् । बाग्मती खवर संग कुरा गर्दै उनले आफू उद्योगमा राम्रो काम गर्न आएको र इमानदारीपूर्वक काम गरिरहेको अवस्थामा राजनीति गरेर उद्योगलाई धराशायी बनाउन खोजेका मजदुर संगठनले राजीनामा माग्दैमा आफूलाई केही फरक नपर्ने बताए ।

‘मैले काम गर्न सकिनँ र गलत गरेँ भने नेपाल सरकारले हटाउँछ,’ उनले भने, ‘मजदुरले राजीनामा मागेर केही फरक पर्दैन ।’ आफूले राम्रो काम गरेकै कारण १ माघ ०७५ मा सरकारले महाप्रबन्धकमा पुनः नियुक्त गरेको दाबी गर्दै उद्योगको हितका लागि सदैव लागिपरेको उनको भनाइ छ । ‘केही जायज माग सम्बोधन हुनेछ, राजनीतिका लागि उठाइएका मागहरू सम्बोधन गर्न सकिँदैन,’ उनले भने ।