हेटौंडा–९ का टोलबासीले फूल रोपेर मनाए ‘विश्व वातावरण दिवस’

बाग्मती खबर
२३ जेष्ठ २०७७, शुक्रबार १६:२८

हेटौंडा : विश्व वातावरण दिवसको अवसरमा आज हेटौंडा उपमहानगरपालिका वडा नं. ९ स्थित दिव्यपथ टोल विकास संस्थाका टोलबासीले आफ्नो क्षेत्रभित्र रहेको मन्दिरमा फूलका बिरुवाहरु रोपेका छन । टोलबासीहरुले स्थानिय क्षेत्रमा पाइने सयपत्री, गोदावरी लगायतका फूलका बिरुवाहरु जलेश्वर महादेव मन्दिर परिसरमा रोपेर विश्व वातावरण दिवस मनाएका हुन् ।
यस वर्षको विश्व वातावरण दिवस को मूख्य नारा ‘सेलिब्रेट बायो डाइभर्सिटी’ अथवा ‘मनाऔँ जैविक विविधता’ रहेको छ । हेटौंडामा हरेक वर्ष विश्व बातावरण दिवसको अवसरमा बिभिन्न कार्यक्रम हुनेगरेको भएपनि यसपटक कोरोना भाइरसको कारण औपचारिक कुनै कार्यक्रम आयोजना गरिएको छैन ।
संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको यस मन्दिरलाई दिव्यपथ टोल विकास संस्थाले नै गत माघमा संरक्षण समिती निर्माण गरेर हेरचाह गर्दै आएको छ । मन्दिरको संरक्षण र विकासका लागि हाल विभिन्न क्षेत्रमा पहल भइरहेको मन्दिर संरक्षण समितिका अध्यक्ष रामबाबु घिमिरेले बताउनुभयो । संरक्षण समितीको पहलमा मन्दिर क्षेत्रमा सरसफाईका कार्यक्रम हुँदै आएको छ भने त्यहाँ रहेको कुवाबाट निस्कने पानीको उचित व्यवस्थापन गर्न अति आवश्यक रहेको पनि उहाँले जानकारी दिनुभयो ।
लभभग ६ दशक भन्दा पुरानो यस पुरातात्विक मन्दिरलाई कसैले चासो नदिँदा मन्दिरको विकासमा समेत समस्या उत्पन्न भएको स्थानियहरु बताउँछन् ।