प्रदेश सांसदद्धारा निर्माणाधिन पार्कको अवलोकन

बाग्मती खबर
२५ जेष्ठ २०७७, आईतवार १५:०६

हेटौंडा : बाग्मती प्रदेशमा सांसद मुनु सिग्देलले हेटौंडा उपमहानगरपालिका वडा नं. ९ मा निर्माण भइरहेको मदन बाल उद्यान पार्कको अवलोकन गर्नुभएको छ । आइतबार प्रदेश सांसद सिग्देलसहित हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीनाकुमारी लामाको टोलीले पार्कको अवलोकन गर्नुभएको हो ।

२५ वर्ष अघिसम्म खहरे खोलाको बगरको रुपमा रहेको क्षेत्रलाई एउटा आकर्षक पार्कको स्वरुप दिने काम प्रशंसायोग्य रहेको सांसद सिग्देलले बताउनुभएको छ । कुनै अवरोध बिना नै चाडैं पार्क निर्माणको काम सम्पन्न गर्न पनि उहाँले शुभकामना दिनुभएको छ । बालबालिकालाई प्राथमिकतामा राखेर ३ हेक्टर क्षेत्रमा बनाउन सुरु गरिएको यस पार्कको सुरुवाती लागत ८ लाख रुपैयाँ रहेको छ ।

पार्क निर्माण गर्दै जाँदा थप बजेट प्रदान गरिने वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताउनुभयो । हाल पार्कको कम्पाउण्ड वालको काम सकिएको छ भने भित्रको भागमा भएको बोटबिरुवालाई संरक्षण गर्दै सरसफाइको काम भइरहेको छ । २ हप्तादेखी हालसम्म १ सय ५९ जनाले ‘श्रममा आधारित राहत कार्यक्रम’ अन्तर्गत पार्क भित्र सरसफाइका काम गरिरहेको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

यस पार्कलाई वडा कै गौरवको योजनाको रुपमा लिइएको उहाँको भनाई रहेको छ । बिशेष गरी बालबालिकाकै लागि निर्माण भएको यस पार्कमा बालबालिकाको लागि ६ स्थानमा खेलकुदमा स्टल हुने भण्डारीले बताउनुभएको छ ।