वडाको विकास गर्न आफै कोदालो बोक्ने जनप्रतिनिधी

हेटौंडा : नेपालमा तिन तहको सरकार निर्माण भएपछि विकासको गति तिब्र रुपमा बढेको छ । स्थानियतहहरुमा जनप्रतिनिधीहरुले विकास गर्दै गर्दा सो क्षेत्रका नागरिकले आफूले दिएको भोट सदुपयोग भएको भन्दै खुसी प्रकट गर्ने गरेका छन् । यस्तै जनप्रतिनिधीहरुमा हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का जनप्रतिनिधी पनि पर्दछन् भन्दा फरक नपर्ला ।
वडाको विकासको काममा आवश्यक पर्दा जनप्रतिनिधीहरु आफै कोदालो बोकेर काम गर्न लागिपर्छन । २४ वटा टोल विकास संस्था रहेको उक्त वडामा जनप्रतिनिधीहरुले सबैको सल्लाहमा विकासका कामहरु गरिरहेका स्थानिय बताउँछन् । हाल वडामै गौरवको योजनाको रुपमा निर्माण भइरहेको मदन बाल उद्यान पार्क निर्माणमा जनप्रतिनिधीहरु दिनरात गरेर लागिपरेका छन् ।

स्थानियहरुसँगै काम गर्नुहुँदै हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी ।
आर्थिक वर्ष २०७६/०७७ मा उपहमानगरपालिकाबाट ८ लाख रुपैयाँ बजेटमा निर्माण भइरहेको उक्त पार्कमा कम्पाउण्ड वाल निर्माण भइसकेको छ । ३ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त पार्कमा हाल बाटोको लागि ट्रयाक निर्माण कार्य भइरहेको छ । ट्रयाक निर्माणमा दैनिक १५ देखी २० जना स्थानियहरु कार्यरत छन् भने उनिहरुलाई केही समय काम गरेवापत राहत प्रदान गरिदै आएको छ ।

पार्क निर्माण स्थलमा सरसफाई गर्नुहुँदै हेटौंडा–९ वडा सदस्य सुकराम केसी ।
गत २ हप्तादेखी सरसफाइ तथा ट्रयाक निर्माण भइरहेको उक्त पार्कमा प्रत्येक दिन बिहान १० बजेसम्मको समयमा वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी तथा वडा सदस्य सुकराम केसी अन्य स्थानियहरुसँगै सरसफाइ गरिरहेको र कोदालो लिएर खनिरहेका देखिन्छन् । अन्य स्थानियहरु पनि राहतको बदलामा वडाको विकासको काममा सहयोग गर्न आएका हुनाले आफु पनि सँगै काम गर्दा उहाँहरुको हौसला बढ्ने वडा अध्यक्ष भण्डारीको भनाई रहेको छ । ‘उहाँहरुलाई मजदुरीको रुपमा नभई केही समय वडाको विकास निर्माणको काम सघाउन लगाइएको हो’ अध्यक्ष भण्डारीले भन्नुभयो ‘हामीले मजदुरसरह काम लगाइएको भन्ने नसोचुन भन्नको लागि आफु पनिसँगै काम गरेको हो ।’

पार्क निर्माण स्थलमा सरसफाई गर्नुहुँदै टोल विकास संस्था वडा समन्वय समिती हेटौंडा–९ का अध्यक्ष यदुवंश खतिवडा ।
काम गरेर कोही सानो नहुने र वडावासीहरुले काम गर्नकै लागि चुनावमा जिताएर पठाउनुभएकाले जनप्रतिनिधीहरुले पनि विकासका काममा आवश्यक परे कोदालो बोक्न पर्ने वडा सदस्य सुकराम केसीको भनाई रहेको छ । वडा अध्यक्ष भण्डारी तथा वडा सदस्य केसीले अरुसँगै कामगरेपनि अन्यसरह राहत नलिनुभएको तर राहत आवश्यक भएका र काम गर्न नसक्ने परिवारलाई भने सो बापतको राहत प्रदान गर्दै आउनुभएको टोल विकास संस्था वडा समन्वय समिती हेटौंडा–९ का अध्यक्ष यदुवंश खतिवडाले जानकारी दिनुभयो ।

‘श्रममा आधारित राहत कार्यक्रम’ अन्तर्गत राहत प्रदान गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीनाकुमारी लामा साथमा हेटौंडा–९ का जनप्रतिनिधीहरु ।
देशका विभिन्न स्थानियतहरुमा जनप्रतिनिधीले नागरिकको भावना अनुरुप काम गरेनन् भनेर विभिन्न समाचार आइरहँदा हेटौंडा–९ का जनप्रतिनिधीहरुले भने सबै जनप्रतिनिधी एउटै हुँदैन भन्ने सन्देश दिएका छन् । यस्तै पार्क निर्माणको क्रममा ‘श्रममा आधारित राहत कार्यक्रम’ अन्तर्गत हालसम्म २ सय ६ जना स्थानियहरुले राहत प्राप्त गरेका छन् ।