बिच सडकमा बिजुलीको पोल पर्ने भएपछि यसरी गरियो हेटौंडा–९ मा सडक स्ल्याब ढलान

हेटौंडा : सडकको बिचमा बिजुलीको पोल राखेर स्ल्याब ढलान गरिएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ को बसामाडीको लेबट क्षेत्रबाट जमुचौतारा जाने सडकको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । ४ मिटर चौडाईको उक्त सडकको बिचमा बिजुलीको पोल भएपछि उक्त काम नै बिबादमा आएको छ ।
तर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा भने सोही किसिमको समस्यालाई फरक किसिमले समाधान गरिएको छ । हेटौंडा–९ को धापटोल बाट मानवसेवा आश्रम जाने बाटो निर्माणको क्रममा सडकको बिचमा २ वटा बिजुलीको पोल पर्ने भएपछि सडक निर्माण उपभोक्ता समितीले डिभाइडर राखेर सडक स्ल्याब ढलान गरेको छ । बाग्मती प्रदेशको ३० लाख रुपैयाँ बजेटमा स्ल्याब ढलान गरिएको उक्त सडकमा बिजुलीको पोल भएको क्षेत्रमा १ दशमलब ५ मिटरको डिभाइडर बनाएर दुई तर्फबाट ३/३ मिटरको स्ल्याब ढलान गरिएको छ ।
करिब २ सय ५० मिटर लम्बाईको उक्त सडकको चौडाई ६ मिटर रहेको छ । जसले गर्दा बिजुलीको पोल भएको क्षेत्रमा डिभाइडर बनाएर पनि दुई तर्फ ३/३ मिटरको बाटो बनेको सडक निर्माण उपभोक्ता समितीका अध्यक्ष कृष्ण घिमिरेले बताउनुभयो । ६ मिटरको सडकमा बिचमा बिजुलीको पोल पर्ने भएपछि के–कसरी अगाडी बढ्ने भन्ने छलफलमा वडा सदस्य सुकराम केसीको सल्लाह तथा उपमहानगरपालिकाका इन्जिनियरको सहमतीमा बिचमा डिभाइडर राखेर सडक स्ल्याब ढलान गरिएको उहाँको भनाई रहेको छ ।
सो सडक मानवसेवा आश्रमसम्म जाने भएकाले पनि डिभाइडर भएको क्षेत्रमा भोलीका दिनमा फूलहरु रोपेर बगैचा बनाउँदा अझै आकर्षक देखिने वडा सदस्य सुकराम केसीले बताउनुभयो । गाडी हिड्न पर्याप्त स्थान हुँदा पनि बिजुलीको पोलसहित ढलान गरिएको भए भोलीका दिनमा दुर्घटना हुनसक्ने भएकाले नै पहिले नै समझदारीका साथ सडकको बिचमा डिभाइडर राखिएको उहाँले जानकारी दिनुभयो ।
बिजुलीको पोल नभएका स्थानमा सडकको चौडाई ६ मिटर रहेको छ भने बिजुलीको पोल पर्ने स्थानमा ९ मिटरसम्म चौडाई राखेर सडक स्ल्याब ढलान गरिएको छ ।