पार्क निर्माणमा स्थानियको सक्रियता

हेटौंडा : हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा निर्माण भइरहेको बाल उद्यान (पार्क) निर्माणमा स्थानियहरुको सक्रियता बढ्दै गएको छ । बेतखोल्सी क्षेत्रमा करिब ३ हेक्टरको क्षेत्रफलमा निर्माण भइरहेको उक्त पार्कमा वडाका स्थानियहरुले जनश्रमदान गरेका छन् ।
बिगत एक हप्तादेखी वडाका विभिन्न टोल विकास संस्था तथा महिला समुहहरुले दैनिक रुपमा आएर पार्क निर्माणमा श्रमदान गरिरहेका छन् । पार्क निर्माणको सुरुवाती चरणमा ‘श्रममा आधारित राहत कार्यक्रम’ अन्तर्गत राहत आवश्यक भएका स्थानियहरुलाई पार्क निर्माणमा श्रम गर्न लगाएपनि हाल भने वडाबासीहरुले नै पार्क निर्माणमा चासो दिएका वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले बताउनुभयो ।
‘सुरुवाती चरणमा पार्क निर्माण गर्दा हामीले पार्कको सरसफाईका काम गर्न आउने करिब २ सय जनालाई राहत प्रदान गर्यौ ।’ वडा अध्यक्ष भण्डारीले भने ‘ अहिले भने सम्पुर्ण वडाबासीहरुले नै गौरबको योजनाको रुपमा लिनुभएको छ र श्रमदान गर्न आइराख्नुभएको छ ।’ सबै वडाबासीको सहयोगमा नै वडाको बिकास सम्भव हुने उहाँको भनाई रहेको छ ।
पार्क निर्माणमा हाल सरसफाईका साथै बाटो निर्माणको काम भइरहेको छ । दैनिक रुपमा विभिन्न टोल तथा महिला समुहबाट श्रमदान गर्न आउनुहुनेसँगै केही स्थानियहरुले राहतको लागि पनि काम गर्नु भएको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
पार्क निर्माणमा श्रमदानको लागि हालसम्म पुष्पाञ्जली आमा समुह, श्रृजनशील सचेत महिला समुह, माल्दिप्स टोल विकास संस्था, दिव्यपथ टोल विकास संस्थाबाट २० देखी २५ जनासम्मको समुह बनाएर श्रमदान गर्न आउनुभएको टोल विकास संस्था वडा समन्वय समिती हेटौंडा–९ का अध्यक्ष यदुवंश खतिवडाले जानकारी दिनुभयो । स्थानियहरुले बिहान ६ बजेदेखी १० बजेसम्म श्रमदान गर्ने गरेको उहाँले बताउनुभयो ।