हेटौडा–९ वडा कार्यालयद्धारा १५ शैयाको क्वारेन्टिन निर्माण, पहिलो दिन ४ जनालाई राखियो

हेटौंडा : कोरोना संक्रमणलाई फैलिन नदिनका लागि हाल स्थानिय तहहरु तिब्र रुपमा लागिपरेका छन् । यस्तै हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले वडामा नै क्वारेन्टिन निर्माण गरेको छ ।
छिमेकी देश भारतसहित बिदेश तथा कोरोना संक्रमणको उच्च जोखिम रहेको जिल्लाबाट आएका वडा भित्रका नागरिकलाई राख्नको लागि १५ शैयाको क्वारेन्टिन निर्माण गरिएको हो ।
जिल्ला समन्वय समिती मकवानपुर, टोल विकास संस्था वडा समन्वय समिती, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, मानव सेवा आश्रम, सिआन पुनस्र्थापना केन्द्र, स्थानिय समाजसेवी पुरुषोत्तम पौडेल, औषधी व्यवसायी कृष्ण न्यौपानेलगायतको सहायतामा वडा कार्यालयले हेटौडा–९ स्थित दिव्यज्योती प्रा.वि.को भवनमा क्वारेन्टिन निर्माण गरेको वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
क्वारेन्टिनमा बस्नेहरुको लागि आवश्यक सम्पुर्ण सामाग्रीको प्रवन्ध मिलाइएको पनि उहाँले बताउनुभयो । यस्तै क्वारेन्टिन निर्माण लगत्तै पहिलो दिन भारत तथा छिमेकी जिल्ला बाराबाट आएका ४ जना वडाबासीलाई क्वारेन्टिनमा राखिएको छ ।
क्वारेन्टिनमा भारतको चेन्नई र केरलाबाट आएका दुई जना पुरुष र बाराको सिम्रौनगढबाट आएका दुई जना महिला रहेका क्वारेन्टिनका स्वास्थ्य इन्चार्ज बिनोद लामिछानेले बताउनुभयो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र १४ दिन क्वारेन्टिनमा राखेर स्वाब परिक्षण गरिने पनि उहाँले जानकारी दिनुभयो ।