स्विस बैंकमा प्रधानमन्त्रीको रकम भन्दै चरित्र हत्या गर्न खोजियो

बाग्मती खबर
३१ असार २०७७, बुधबार १३:१९

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले “ग्लोबल वाच एनालिसिस”को हवाला दिँदै प्रधानमन्त्रीबारे आएका समाचार भ्रामक, गलत र चरित्रहत्या गर्ने खालको भएको बताएका छन् ।
ग्लोबल वाच एनालिसिसको हवाला दिँदै केही भारतीय सञ्चारमाध्यमले तथ्यहीन समाचार प्रकाशित गरेपछि नेपालका केही अनलाइन मिडियाले पनि त्यसैलाई आधार बनाएर गलत समाचार प्रकाशित गरेका थिए । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सूर्य थापाले “ग्लोबल वाच एनालिसिस”को हवाला दिँदै केही नेपाली अनलाइनहरुले प्रधानमन्त्रीको बारेमा गैरजिम्मेवारपूर्ण तथा बदनियतपूर्ण सामग्री सम्प्रेषण गरेको बताएका छन् । स्विस बैंकको खातामा प्रधानमन्त्री ओलीको नाममा ५.५ मिलियन अमेरिकी डलर रहेको व्यहोरासहित प्रकाशित रिपोर्टहरु शतप्रतिशत गलत र कपोलकल्पित रहेको पनि थापाले स्पष्ट पारेका छन् । थापाले विज्ञप्तिमा भनेका छन्, “जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ ।”