४ छोरा गुमाएकी आमालाई नयाँ घर

बाग्मती खबर
६ श्रावण २०७७, मंगलवार १८:३७

हेटौंडा :  नेपालमा गणतन्त्र ल्याउनु भन्दा अघिका जनआन्दोलनमा चार वटा छोरा गुमाएकी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिनगरको सुकुम्बासी टोलकी ७० वर्षीया शुभद्रा दर्नाललाई स्थानीय सरकारले चार कोठाको घर निर्माण गरेर आज औपचारिक रुपमा हस्तान्तरण गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाले विभिन्न आन्दोलनमा चार छोरा गुमाएकी दर्नाललाई घर निर्माण गरेर आज हस्तान्तरण गरेको हो । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले झुप्रो घरमा वस्दै आउनुभएकी द्वन्द पीडित आमालाई घर प्रवेश गराए ।
उपमहानगरपालिकाले स्वर्गिय पुष्पलाल श्रेष्ठ र वीपी कोइरालाको स्मृतिको अवसर पारेर द्वन्द पीडित दर्नाललाई घर हस्तान्तरण गरेको हो । विभिन्न सञ्चार माध्यममा द्वन्द पीडित आमाको पीडा समेटिएको समाचार बाहिर आएपछी मेयर महतको अगुवाइमा बृद्ध दर्नाललाई घर निर्माण गरेर आजै मेयर महतले उद्घाटन गर्दै घरको साँचो समेत हस्तान्तरण गरेका हुन् । घर निर्माण अघि पटक पटक उपमहानगरपालिकाले खाद्यान्नका सामाग्री पनि उनलाई सहयोग गरेको छ । करिब ११ लाख रुपैयाँ लागतमा घर, शौचालय समेत निर्माण गरेर हस्तान्तरण गरिएको हो । आफुले जिवनमा काम गरेको मध्यमा जनआन्दोलनमा चार छोरा गुमाएकी आमालाई घर वनाएर हस्तान्तरण गर्न पाउँदा सबैभन्दा खुसी भएको मेयर महतले बताए ।
जनआन्दोलनमा चार छोरा गुमाएकी दर्नाललाई बिहान–बेलुका हातमुख जोर्न पनि समस्या रहेको मात्र होइन, घामपानी दुवै छिर्ने टहरोमा बस्दै आउनु भएको थियो । उन रक्तअल्पता, दमको रोग लगायतका समस्यामा रहनुभएकी उन आज नयाँ घरमा बस्न पाएकोमा धेरै खुसी भए । दुःख र समस्याले पीडित बनेकी दर्नालले आफुले स्थानीय सरकारको प्रमुख मेयरलाई छोराको रुपमा प्राप्त गरेको बताए ।