बागमती प्रदेशमा ३२ पुल निर्माण सम्पन्न, मुख्यमन्त्रीले गरे एकै चोटी उद्घाटन

बाग्मती खबर
७ श्रावण २०७७, बुधबार १५:४४

हेटौंडा : बागमती प्रदेशमा असार मसान्त सम्म निर्माण भएका पुलहरुको एकै चोटी उद्घाटन भएको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माण सम्पन्न ३२ पुलको एकैचोटी उद्घाटन गरेका हुन् ।
बागमती प्रदेश भरिमा काठमाडौंको एक, ललितपुरको ५, भक्तपुरको १, काभ्रेपलाञ्चोकको ५,सिन्धुपलाञ्चोकको ५, दोलखाको ३, चितवनको ३ मकवानपुरको २, नुवाकोटको ३, धादिङको १,सिन्धुलीको १ र रामेछापको १ गरेर ३२ पुलको उद्घाटन भएको हो ।


३२ वटा पुलको कुल लम्बाई ९ सय ९२ मिटर रहेको छ भने जम्मा लागत ७३ करोड ६७ लाख ४३ हजार रहेको मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको काम देखिने बेला आएको बताएका छन् । उनले सरकारले केहि गरेन भन्नेहरुलाई गाउँमा गएर विकासको काम हेर्न समेत अनुरोध गरे । बागमती प्रदेशको भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा लगायतको आतिथ्यता रहेको थियो ।