नेकपा मकवानपुर : श्रद्धाञ्जली सभा मै गुुटबन्दी !

बाग्मती खबर
११ श्रावण २०७७, आईतवार १३:५६

हेटौंडा : शनिबार हटौंडा उपमहानगरपालिका १७ नम्बर वडाको राजदेवीमा स्व. बालकुमारी थापाको श्रद्धाञ्जली सभामा श्रद्धाञ्जली दिन नेता तथा कार्यकर्ता ठुलो संख्यामा पुगेका थिए । नेकपा मकवानपुरकी आमा, कम्युनिष्टहरुको सेल्टर दाताको रुपमा चर्चित नेकपा मकवानपुरकी जेष्ठ कम्युनिष्ट मञ्चकी सदस्य बालकुमारी थापाको १३ औं दिनको पुण्य तिथीमा माधव नेपाल र प्रचण्ड खेमाले ओली टिमलाइ वेवास्ता गर्दै कार्यक्रम गरेको हो ।
तत्कालिन नेकपा माओवादीका जिल्ला अध्यक्ष तथा हाल नेकपा मकवानपुरका सचिव प्रेम बहादुर पुलामी “छिन्तु”ले चलाएको कार्यक्रममा नेकपाका नेता मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । ओली गुटका एक जिल्ला नेताअनुसार श्रद्धाञ्जली सभाको प्रमुख अतिथिको रुपमा एक दिन अघि सम्म पोलिटब्युरो सदस्य काशिनाथ अधिकारी रहने भएपछि रातारात मुकुन्द न्यौपानेलाई प्रमुख अतिथिको रुपमा ल्याइएको हो । अतिथि आसन ग्रहण समेत गुटबन्दी देखिएको थियो । केन्द्रिय सदस्य रहेका मुख्यमन्त्रीलाई अर्का केन्द्रिय सदस्य विरोध खतिवडा भन्दा पछि मात्रै आसन ग्रहण गराइएको थियो ।
मुख्यमन्त्रीलाई बोल्नै दिइएन
कार्यक्रममा यस्तै ओली पक्षधर मानिने नेताहरुलाई मन्तव्य समेत राख्न नदिएको सभामा सहभागी नेताहरुले बताएका छन् । प्रमुख अतिथि मुकुन्द न्यौपाने पछि काशिनाथ अधिकारीको बोल्ने पालो भएता पनि उनको नाम कार्यक्रम सञ्चालक छिन्तुले काटिदिए, यस्तै बागमती प्रदेशका मुख्यमन्त्री रहेका नेकपाका केन्द्रिय सदस्य डोरमणि पौडेललाई मन्तव्यको लागि समय नै दिइएन । सरकारको उच्च ओहोदामा रहेका पौडेल बोल्न नपाएपछि थुप्रै नेता कार्यकर्ताहरु रिसाएका थिए । कार्यक्रमको सभाध्यक्ष नेकपा मकवानपुरकी जिल्ला अध्यक्ष मुनु सिग्देलले गरेकी थिईन् । सिग्देल र इन्चार्ज विरोध खतिवडा श्रीमान श्रीमती हुन् । अहिले मकवानपुरको नेकपामा गुटबन्दीको स्वरुप भन्दै सामाजिक सञ्जाल समेत तातेको छ । खतिवडा र सिग्देलले परिवारवाद चलाएको भन्दै केहि नेकपाका कार्यकर्ताहरुले सामाजिक सञ्जालमा समेत लेखेका छन् । सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको समवेदना पत्र घोप्टाएर राखिएको थियो भने नेकपाका नेता माधव नेपालले पठाएको समवेदना पत्र देखाएर राखिएको थियो ।