आज देखि शुक्रबार सम्म ठुलो पानी पर्ने

बाग्मती खबर
१२ श्रावण २०७७, सोमबार १५:००

काठमाडौँ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबारदेखि शुक्रबारसम्म ठूलो पानी पर्नसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र नेपालको दक्षिण भूभागनजिक मनसुन न्यूनचापीय रेखा रहेकाले आगामी ५ दिन मुलुकका केही भागमा वर्षा हुने जल तथा मौसम विभागले पूर्वानुमान गरेको छ ।
सोमबारदेखि शुक्रबारसम्म प्रदेश नम्बर ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम र वाग्मती प्रदेशका केही स्थान र प्रदेश एक र दुईका थोरै स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना रहेको विभागको अनुमान रहेको छ । यस अवधिमा पहाडी भूभागमा भूक्षय र पहिरो जानसक्ने तथा तराईमा बाढी र डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।