रेडक्रसको केन्द्रिय सदस्यमा प्रताप विष्ट

बाग्मती खबर
१३ श्रावण २०७७, मंगलवार १९:०६

हेटौंडाः सरकारले आर्थिक अनियमितता गरेको आरोपमा नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सञ्जिव थापा सभापति भएको कार्यसमिति भंग गरेर मोरङ सिजुवाका नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।

तिम्सिनाको नेतृत्वमा बनेको केन्द्रीय सदस्यमा मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्ट परेका छन् । लामो समय पत्रकारिता र सामाजिक क्षेत्र, मानव अधिकारको क्षेत्रमा क्रियाशिल विष्टलाई मन्त्रीपरिषद्को निर्णयले तदर्थ समितिमा सिफारिस गरेको हो ।
यस अघिको रेडक्रसले सरकारलाई जानकारी नदिई १६ अर्ब रुपैयाँ विदेशी सहायता लिएको, भक्तपुरमा जग्गा खरिदमा आनियमतता गरेको, रेडक्रसको केन्द्रीय कार्यालय, शाखा र उपशाखाको चल–अचल सम्पत्तिको दोहन गरी अनियमितता गरेको, समाज कल्याण र जिल्ला प्रशासनको निर्देशन पालना नगरेको, विधान तथा कानुन विपरीत काम गरेको, पदाधिकारीले आफ्नो पारिश्रमिक लिएको आरोपमा थापाका सभापति भएको कार्यसमिति भंग गरेको हो ।