विद्युतीय गाडी सञ्चालनका लागि चार्जिङ्ग सेन्टर निर्माणको प्रक्रिया शुरु

बाग्मती खबर
२१ भाद्र २०७७, आईतवार १४:३७

वाग्मती प्रदेश सरकारले विद्युतीय गाडी सञ्चालनका लागि आवश्यक पर्ने चार्जिङ्ग सेन्टर निर्माणको प्रक्रिया शुरुगरेको छ । प्रदेशभर विद्युतीय सवारी सञ्चालनको व्यवस्था मिलाउन आवश्यकीय स्थानमा चार्जिङ्ग सेन्टरहरु निर्माणका लागि प्रक्रिया शुरु गरिएको प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले जानकारी दिनुभयो । यातायात सेवालाई सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउन निजी साझेदारी माध्यमबाट विद्युतीय यातायात प्रणाली सञ्चालनगरी आगामी २०८५ सालभित्रमा प्रदेशका ठूला सहरबाट पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनहरुलाई विस्थापन गर्नेगरी काम शुरु गरिएको मन्त्री फुयालले बताउनुभयो ।

मन्त्री फुयालले सरकारले चार्जिङ्ग सेन्टर राख्न इच्छुक स्थानीय तहहरुलाई १५ दिनभित्र मन्त्रालयमा सम्पर्क राख्न अनुरोध गर्दै सूचना जारी गरेको जानकारी दिनुभयो । मूलसडकसंग जोडिएको कम्तिमा ३ रोपनी जग्गा उपलब्ध भए अध्ययन गरेर उपयुक्तता र आवश्यकताका आधारमा सेन्टर निर्माण गरिने उहाँको भनाई छ । मन्त्री फुयालले सरकारले प्रस्तुत गरेको पहिलो नीति तथा कार्यक्रममा नै आगामी ८५ सालसम्ममा नवीकरणीय उर्जालाई प्राथमिकता दिदै पेट्रोलियम सवारी विस्थापित गर्ने लक्ष्य प्रस्तुत गरिएकोले सरकारले उक्त लक्ष्यलाई पुरागर्नेगरी काम अगाडि बढाएको बताउनुभयो । उहाँले सरकारले चाँढैनै विद्युतीय बसहरु खरिद गरेर सञ्चालन गर्ने जानकारी दिनुभयो । फुयालले पहिलो चरणमा सरकारले धुलिखेलबाट बनेपा, काठमाण्डौं, धादिङ्ग, चितवन, हुटौंडा, सिन्धुलीहुँदै धुलीखेलको रुटमा विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो । प्रदेशलाई हरित प्रदेश र वातवरणमैत्रि प्रदेशका रुपमा निर्माण गरिने योजना अनुसार काम गरिने उहाँको भनाई थियो । मन्त्री फुयालले देशका तीनै तहका सरकारसँगको सहकार्यमा काम गरिने स्पष्ट पार्नुभयो ।