सरकार नागरिकको स्वास्थ्यप्रति गम्भिर र चिन्तित छ , मुख्यमन्त्री पौडेल

बाग्मती खबर
२१ भाद्र २०७७, आईतवार १४:४४

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भिर र चिन्तित रहेकोले सोहीमर्मअनुसार काम भइरहेको बताउनुभएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल अन्तर्गत कोरोना संक्रमितहरुको उपचारका लागि सञ्चालित आइसोलशन वार्डको अनुगमनपछि पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले आइसोलेशन वार्डको व्यवस्थापनको काम अत्यन्तै छोटो समयमा गर्नुपरेकाले शुरुका दिनमा सेवा प्रवाहमा केही कमजोरीहरु देखिएका हुनसक्ने भएपनि हाल सेवा प्रवाह चुस्त पाइएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पौडेलले वार्ड स्थापना र सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।
पौडेलले वाग्मती प्रदेश सरकार कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा निरन्तर लागि रहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले पछिल्लो अवस्थामा कारोना भाइरसको महामरी व्यापक बन्दै गइरहेको अवस्थालाई मध्यनजरगर्दै प्रदेश सभामा प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
पौडेलले जनताको सबैभन्दा महत्वपूर्ण र पहिलो आवश्यकता सहजरुपमा स्वास्थ्योपचार गर्न पाउनु रहेकोले अस्पताल नभएका स्थानमा अस्पताल स्थापना गर्ने र भएका स्थानहरुमा सेवा थपगर्ने कामलाई तिव्र वारेको बताउनुभयो । मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान गठनको उद्देश्य प्रदेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नु रहेको उहाँको भनाई थियो ।
पौडेलले प्रदेशका विभिन्न अस्पतालहरुलाई सेवा सुविधा वृद्धि गर्दै प्रदेश स्तरको अस्पतालका रुपमा स्तरोन्नति गर्न लागिएको जानकारी दिनुभयो । प्रदेशले दोलखाको चरीकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाँउ अस्पताल, चितवनको बकुलर रत्ननगर अस्पताल र काठमाण्डौ टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश स्तरीय अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय भएको पौडेलले जानकारी दिनुभयो ।