समस्याको जडमै समाधानको उपाय खोज्नु आवश्यक छ-मुख्यमन्त्री पौडेल

बाग्मती खबर
२९ भाद्र २०७७, सोमबार ०७:३७

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सडक बालबालिका एवम् बालश्रम शोषणमुक्त प्रदेश बनाउन यस क्षेत्रमा क्रृयाशिल सामाजिक संघसंस्थाहरुबीच सहकार्यमा बालबालिकाहरुको सर्वाङ्गिण विकासको दायित्व सरकारले लिएको बताउनुभएको छ । बालदिवसको आवसरमा आज शुभकामना वक्तव्य जारी गर्दै मुख्यमन्त्री पौडेलले समस्याको जडमै समाधानको उपाय खोज्नुपर्ने बताउदै बालश्रम शोषणमुक्त प्रदेश बनाउन सरकारको एकलप्रयासबाट मात्रै संभव नहुने धारणा राख्नुभएको छ ।
पौडेलले बालबालिकाहरु सडकमा आउनुपर्ने र जोखिमयुक्त श्रममा लाग्नुपर्ने वाध्यताको पछाडि विद्यमान पारिवारिक, समाजिक, राजनीतिक लगायतका कारणहरुको अध्ययन गरी समस्याको जडमै समाधानको उपाय खोज्नु पर्ने उल्लेख गर्नुभएको छ । उहाँले बालअधिकारको संरक्षण र संवद्र्धन गर्न सबै सरोकारवालाहरुबीच एकीकृत प्रयास अनिवार्य रहेको बताउनुभएको छ । “विपतमा बालअधिकारको सुनिश्चिता, हामी सबैको साझा प्रतिबद्धता” भन्ने नाराका साथ मनाउन लागिएको राष्ट्रिय बालदिवस –२०७७ को अवसरमा जारी सन्देशमा पौडेलले महासन्धि अनुमोदन पश्चात बालअधिकारको सुनिश्चितताको लागि सरकारको तर्फबाट विविध संवैधानिक तथा कानूनी प्रवन्धहरु गरिदैं आएको उल्लेख गर्नुभएको छ । पौडेलले नेपालको संविधान, २०७२ को धारा ३९ ले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषणयुक्त खाना, पहिचान तथा सुरक्षाको प्रत्याभूति गरेको, साथै, बालबालिकामाथि हुने हिंसा, शोषण एवम् दुव्र्यावहारलाई दण्डनीय बनाइएको, बालबालिकाको शिक्षामा सहज एवम् सर्वसुलभ पहुँचलाई स्थापित गर्न आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निशुल्क गरिएको, कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालय खाजा कार्यक्रम, एक विद्यालय, एक नर्स अभियान, छात्रवृत्ति वितरण लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको उल्लेख गर्नुभएको छ ।
“सडक बालबालिका एवम् बालश्रम शोषणमुक्त प्रदेश बनाउन यस क्षेत्रमा क्रृयाशिल सामाजिक संघसंस्थाहरुबीच सहकार्यमा बालबालिकालाई आश्रय तथा अभिभावकत्व प्रदान गर्ने, शिक्षा, स्वास्थ्य लगायत उनीहरुको सर्वाङ्गिण विकासको दायित्व सरकारले लिएको छ । यद्यपि बालबालिकाहरु सडकमा आउनुपर्ने र जोखिमयुक्त श्रममा लाग्नुपर्ने वाध्यताको पछाडि विद्यमान पारिवारिक, समाजिक, राजनीतिक लगायतका कारणहरुको अध्ययन गरी समस्याको जडमै समाधानको उपाय खोज्नु आवश्यक देखिन्छ ।
बालबालिका भोलिका कर्णधार हुन् । सुशिक्षित, स्वस्थ एवम् सिर्जनशिल बालबालिकाहरुनै देशको उज्यालो भविष्यका निर्माता हुन् । यसका लागि आजै बालबालिकाको विशेष हेरचार, संरक्षण, पोषणयुक्त खाना, शिक्षा, स्वास्थ्य लगायतका पक्षहरुमा सजग बन्नुपर्छ । संवैधानिक तथा कानूनी प्रवन्धहरुको व्यवहारिक कार्यान्वयनबाट बालबालिकाका यस्ता धेरै सवालहरुलाई सम्बोधन गर्ने प्रयास हुँदै आएको छ । तथापि सरकारको एकल प्रयासले यो संम्भव छैन । बालअधिकारको संरक्षण र संवद्र्धन गर्न सबै सरोकारवालाहरुबीच एकीकृत प्रयास अनिवार्य छ । बालअधिकारको सुनिश्चिताको लागि यस वर्षको राष्ट्रिय बालदिवसले सम्पूर्णमा थप उर्जा, उत्साह र आत्मविश्वास सिंचित गर्ने अपेक्षा सहित पुनः सम्पूर्ण बालबालिकाहरुमा शुभकामना व्यक्त गर्दछु मुख्यमन्त्री पौडेलले सन्देश मार्फत भन्नुभएको छ ।