पढ्ने उमेरमा सन्तान …

बाग्मती खबर
३० भाद्र २०७७, मंगलवार १०:५४

१७ वर्षीया मनीषा चेपाङका दुई छोराछोरी हुर्कंदैछन्। मकवानपुरको राक्सिराङ –७ की मनीषाले तीन वर्षअघि गाउँकै १८ वर्षीय धिरन चेपाङसँग प्रेम विवाह गरेकी थिइन्।दुवै बच्चा घरमै जन्माएकी उनले कक्षा ५ मा पढ्दै गर्दा भोगर बिहे गरिन्। सानै उमेरमा घर व्यवहार र छोराछोरीको जिम्मेवारीले थिचिएकी मनीषा अहिले भने छिटै बिहे गरेकोमा पछुतो मान्छिन्। ‘बिहे गरेसी बच्चा नि भइहाल्यो तर सानैमा बिहे नगर्दा राम्रो हुने रैछ’, उनले दुःखेसो पोखिन्।

मनीषामात्र होइन उनका साथीसंगीको विवाह १५ वर्षभन्दा कम उमेरमा भइसकेको छ। मनीषासँगै गाउँमा भेटिएकी शान्तिमाया चेपाङ झट्ट हर्दा १२÷१३ वर्षकी देखिन्छन्। कलेटी परेको ओठ, बच्चालाई दूध खुवाउँदै गरेकी शान्तिमायाको अनुहारमा प्रष्ट बालापन झल्किरहेको देख्न सकिन्छ। तर, जिम्मेवारीले उनी    श्रीमती, आमा, बुहारीलगायत थुप्रै साइनो र घर व्यवहारमा जोडिएकी छिन्। राक्सिराङ –७ बाकसेकी शान्तिमायालाई भेट्ने जो कोही नयाँ मान्छेलाई उनी आमा बनिसकेको पत्याउन गाह्रो हुन्छ। दुई वर्षअघि बिहे गरेकी उनको एक वर्षको बच्चा छ। उनलाई आफू कति वर्षको भए र कति वर्षमा बिहे गरें त्यो पनि थाहा छैन।

कक्षा १ मा भर्ना भएपछि विद्यालय नटेकेकी शान्तिमायालाई आफ्नै पूर्ण स्याहार गर्न सक्ने नहुँदै बच्चाको हुर्काउने जिम्मेवारी थपिएको छ। ‘कति वर्ष भयो थाहा छैन, भागेर बिहे गरेको हो’, उनले भनिन्, ‘बच्चा हेर्ने घरको काम गर्ने हो अरू केही आउँदैन।’ घर व्यवहार र बच्चा जन्मिएपछि अहिले हतारमा बिहे गरेको भन्न लाग्न थालेको छ। शान्तिमाया र मनीषाजस्तै गाउँभर उमेर नपुगी विवाह गर्ने बालिका र किशोरी भेटिन्छन्। सानैमा विवाह गरेकाहरूको जीवन बच्चा, रोग, भोक र दुःखसँगै बित्ने गरेको छ।

श्रीमान्ले छोडेपछि २३ वर्षीया देवकी चेपाङ भने माइतीमा छिन्। ३ सन्तान भएपछि बूढी भएको भन्दै श्रीमान् सन्तबहादुरले छाडेर अर्कैसँग बिहे गरेको उनले दुःखेसो पोखिन्। साथीहरूले भोगको दुःख देखेकी सुनिता चेपाङले भने सानै उमेरमा विवाह नगर्ने सोच बनाएकी छिन्। २० वर्षीया उनी कक्षा १२ मा चितवनको भण्डारामा पढ्दैछिन्। ‘अरूको दुःख देखेरै मलाई चाहिँ विवाह गर्न मन लागेन, अब अझै ५÷६ वर्ष विवाह गर्दिनँ’, उनले भनिन्, ‘पढेर आफैं सक्षम भएपछि विवाह गर्दा धेरै दुःख नपाइने रहेछ।’

बाल विवाहले चेपाङ समुदायमा परिवार पनि दिगो हुन सकेको छैन। ५६ वर्षीय हरिमाया चेपाङको १० वर्षका उमेरमा परिवारले विवाह गरिदिएको थियो। ८ छोराछोरीसँगै र ६ नातिनातिनाकी हजुरआमा उनी उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने बताउँछिन्। ‘एक जनासँग बिहे भएपछि दुःखसुख गरेर बस्ने हो तर सानैमा बिहे गर्दा दुःख मात्र हैन सम्बन्ध पनि नटिक्ने भइरहेको छ’, उनले भनिन्, ‘बच्चा भएर छुट्टिएर बस्नुभन्दा उमेर पुगेर बिहे गर्दा राम्रो।’

स्थानीय दामराङ आधारभूत विद्यालयमा कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशतभन्दा बढी विद्यार्थीले बीचमै पढाइ छाडेका छन्। ‘अघिल्लो वर्ष कक्षा ६ मा पढ्ने ७ जना किशोरीहरूले भागेर बिहे गरे’, शिक्षक विजयराम चेपाङले भने, ‘अहिले सूचना प्रविधि, संघसंस्था, स्थानीय सरकार सबैको चासोले अलि कम त भएको छ तर बाल विवाह रोकिएको छैन।’ चेपाङ समुदायमा संस्कारकै रूपमा रहेको बालविवाह रोक्न स्थानीय निकायले पहल गरिरहेको छ। ‘हाम्रो समुदायमा १४÷१५ वर्षमा मगनी विवाह गर्ने चलन छ’, राक्सिराङ –८का वडाध्यक्ष सिंहलाल चेपाङले भने, ‘यस्तो संस्कार हटाउन बालविवाह भएको घरलाई स्थानीय सरकारले कुनै सेवासुविधा नदिने निर्णय गरेका छौं।’ बागमती प्रदेशले २०७८सम्म वाग्मती प्रदेशलाई बालविवाह मुक्त प्रदेश घोषणा गर्ने लक्ष्य लिएको छ। – अन्नपूर्ण पोष्टबाट । तस्विर , कृष्ण शारु मगर