नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई कार्यक्रम गर्न रोक

बाग्मती खबर
३० भाद्र २०७७, मंगलवार १५:५६

सत्तारुढ नेकपाले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसंस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । नेकपाले अन्तरपार्टी निर्देशन , ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेसन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला, र स्थानीय तहमा कुनै पनि शाखा गठन र गविविधि गर्न रोक लगाउने निर्देशन दिएको हो ।

पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी, जीवराज आश्रित, नरबहादुर कर्माचार्य, निर्मल लामा, सुरेश वाग्ले, कृष्णसेन इच्छुक , मोतीदेवी, सहाना प्रधान, झलनाथ खनाल लगायत नाममा त्यस्ता संस्था तथा प्रतिष्ठान खोलिएका छन् । ति मध्ये केहीका केन्द्रमा मात्र र केहीका जिल्लाहरुमा पनि शाखा खोलिएका छन् ।

नेकपाले ती नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसंस्थामध्ये अधिकांशले पार्टीभित्र गुटबन्दी गर्न थालेपछि अन्तरपार्टी निर्देशन , ५ मा रोक लगाउने निर्देशन दिएको हो । केन्द्रमा भने कुनै रोक लगाइएको छैन ।