कृषि उद्यममा अगाडि बढ्दै मकवानपुरगढी

बाग्मती खबर
७ आश्विन २०७७, बुधबार ०८:५८

रिपेश दाहाल, हेटौंडा-
केन्द्र सरकारको कृषि नीति , प्रदेश सरकारको किसान लक्षित कार्यक्रम र स्थानीय तहको प्रभावकारी व्यवस्थापनले कृषि पेशामा युवाहरुको समेत आकर्षण बढ्दो छ । वाग्मती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ वटा गाउँपालिका सहित १० वटा स्थानीय तहहरु छन् । जिल्लाका हेटौंडा बाहेक सबै पालिकाहरुको आम्दानीको मुख्य स्रोत कृषि तथा पशुपालन नै हो । जिल्लामा आलु र काउलीका लागि थाहानगरपालिकाको पालुङ्ग र मनहरीको हाँडीखोला , खुर्सानी , मुला , साग आदिका लागि चित्लाङ । माछाका लागि मनहरी , इन्द्रसरोवर , हेटौंडा , गेडागुडीका लागि सामरी , सुपिङ्ग कैलाश । कोदो , भटमासका लागि पदमपोखरी , धान, गहुँ लगायत अन्नपातका लागि हेटौंडाको हटिया , हर्नामाडी , गुरौविर्ता , मनहरी , बकैया तथा बागमती गाउँपालिका , महका लागि राक्सिराङ , मनहरी र हेटौंडा प्रसिद्ध छन् ।
एसियामै नेपालमा मात्र पालिएको अनौठो जीव उुँटे भेडा(अल्पका) मकवानपुरमै पालिएको छ भने विभिन्न खालका ट्राउट माछाहरु , बट्टाई , लौकाट , टर्की , हाँस , कडकनाथ आदि विभिन्न प्रकारका चराचुरुङ्गी र कुखुराहरु मकवानपुरमा व्यवसायिक रुपमा पालिएका छन् । तिलफल(ड्रागन फ्रुट) , घ्यूफल(एभोकाडो) , किवी आदि आधुनिक कृषिमा चर्चित फलफूलहरु पनि मकवानपुरमा व्यवसायिक रुपमै लगाइएको छ ।

 


मकवानपुरगढी गाउँपालिकाका किसानहरु भने उन्नत जातको गाई , बाख्रा लगायत पशुपालनतर्फ आकर्षित हुन थालेकाछन् । गाउँपालिकामा हाल सानाठूला गरी ७० वटा भन्दाबढी पशुपालन केन्द्रहरु सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ । यस गाउँपालिकामा विगतदेखि नै सञ्चालनरत २० वटा र नयाँ दशवटा ठूला कृषि फारम दर्ता भएकाछन् । त्यस्तै ५० वटा कृषि फारमहरु दर्ता प्रक्रियामा रहेको गाउँपालिकाका पशुपञ्छी तथा मत्स्य विकास शाखाका प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो । दर्ता प्रक्रियामा सहभागि नभएका र ठूलो तथा सानो परिमाणमा पशुपालन गर्ने किसानहरुको संख्या हजारौं रहेको उहाँको भनाई छ । १४९ वर्ग किलोमिटर. क्षेत्रफलमा फैलिएको मकवानपुरगढी गाउँपालिकामा सहकारीहरुले मात्रै दैनिक १० हजार लिटर दुध सङ्कलन गर्ने गरेको गाउँपालिकाको तथ्याङ्क छ । जिल्ला सदरमुकाम अर्थात प्रदेशको राजधानी हेटौडासँग सिमाना जोडिएको कारण र कान्तिराजपथ तथा सदरमुकामसँग जोडिएका पक्की सडकहरुका कारण कृषि उत्पादनको निर्यात र आवश्यक सामग्रीहरु आयातमा सहजता भएकोले पनि यहाँको कृषि उद्यम फष्टाएको स्थानीय बताउँछन् । मकवानपुरगढी गाउँपालिकाबाट मासिक रु ३ करोड मूल्य बराबरकोे कच्चा दुध निर्यात हुने गाउँपालिकाले जनाएको छ । सहकारी मार्फत मात्रै दैनिक दश हजार लिटर दुध निर्यात हुने र निजी सङ्कलक मार्फत पनि सोही परिमाणको दुध बाहिरिने जनाइएको छ ।
यसरी सहकारी तथा निजी सङ्ककलक मार्फत निर्यातहुने दुधबाट गाउँपालिकामा दैनिक रु १० लाख भित्रिने गरेको जनाइएको छ । दुध बाहेक गाउँपालिकाबाट केरा , मकै , कोदो , अदुवा लगायत कृषि उपजहरु बाहिरिने कृषकहरु बताउँछन् । गाउँपालिका व्यवसायिक र आधुनिक कृषि तर्फ उन्मुख हुदै गर्दा उत्पादनमा समेत बृद्धि हुदैगएको हो ।
आधुनिक खेती प्रणाली मार्फत मकवानपुर गढीमा दैनिक लाखौको तरकारी , केरा जस्ता उत्पादन बाहिरिने स्थानीय अगुवा किसानहरु बताउछन् । राज्मा , बोडी , मास , सिमी , भटमास जस्ता मौसमी गेडागुडी तथा विभिन्न प्रकारका मौसमी एवम् बेमौसमी तरकारीहरु यहाँ प्रशस्त उत्पादन हुने स्थानीय कृषक टिका दाहाल बताउँनुहुन्छ । अकवरे खुसार्नी , स्थानीय जातको गोलभेडा आदिको उत्पादन गढीमा राम्रो हुने उहाँको भनाई छ । टर्की तथा कुखुरा पालन गरिरहनुभएका दाहालले लाखौंको लगानीमा प्लाष्टिकको सुरुङ्ग (टनेल) बनाएर प्राङ्गगारिक तरकारी खेती गरिरहनुभएको छ । गढी गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्ष समेत रहनुभएका कृषि उद्यमी दाहाल टर्की पालन व्यवसायले नेपाली किसानलाई फाईदा पु¥याउन सक्ने बताउनुहुन्छ ।
मकवानपुर गढी गाउँपालिकामा बोयर जातको बाख्रा पालन गरेर राम्रो आम्दानी गरिरहनुभएका किसान शालिकराम सापकोटा सरकारले प्रस्तुत गरेको योजना सही तरिकाले कार्यान्वयन भएमात्र किसानले लाभ लिन सक्ने बताउनुहुन्छ । सरकारले ल्याएको कृषि नीति , ऋण आदि प्रचार गरिए जस्तो सरल र सहज नभएको उहाँको गुनासो छ । “सरकारले न्युन व्यादरमा ऋण लिएर उद्यम गर बैक जाउ भन्छ , बैंकले झुलाउछ ” उहाँले भन्नुभयो कृषि उद्यमका लागि २ प्रतिशत सम्मको न्युनतम ब्याजदरमा ऋण पाइन्छ भनेको सुनेपनि कुनैपनि बैंकले ऋण नदिएको बताउने किसान सापकोटाले एक निजी बैंक मार्फत ७ प्रतिशत ब्याज बुझाउनेगरी करीब १८ लाख ऋण स्वीकृत गरेको बताउनुभयो ।
तर, गाउँपालिकाले कृषिलाई प्रबद्र्धन गर्न कुनैपनि कसर बाँकी नराख्ने गाउँपालिका अध्यक्ष विदुर हुँमागाई बताउनुहुन्छ । कृषि उत्पादन वृद्धि गर्न पालिकाले प्रदेश सरकारको सहयोगमा माटो परीक्षण केन्द्रको सञ्चालन गरिसकेको , सिंचाइँ , मलविउ आदिको व्यवस्था गर्ने तथा पशुपालनलाई पबद्र्धन गर्न गोबर परीक्षन केन्द्र तथा दाना उद्योग सञ्चालन गरिएको उहाँको भनाई छ । गाउँपालिका कृषि मार्फत मात्रै समृद्ध हुने ठानेर पालिकाले कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको अध्यक्ष हुमागाईले जानकारी दिनुभयो ।