मकवानपुरमा पहिरोले स्कार्पियो र मोटरसाइकल पुर्दा, एकजनाको मृत्यु दुईजना घाइते

बाग्मती खबर
७ आश्विन २०७७, बुधबार ११:४७

मकवानपुर- मकवानपुरको देउरालीमा स्कार्पियो जीप पहिरोले पुरिएको छ । जीप पुरिदा कम्तिमा एकजनाको ज्यानगएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यलय भीमफेदीबाट खटिएको प्रहरी टोलीले पहिरो पन्छाएर जीप निकाल्ने काम गरिरहेको र हाल चालकलाई जीपमा मृत अवस्थामा भेटिएको भएपनि जीपमा अरु यात्रुहरु भएनभएको यकिन भइनसकेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । पहिरो पन्छाएर जीप निकाल्न अझै एक घण्टा लाग्नसक्ने प्रहरीले जानकारी दिएको छ ।
काठमाण्डौंबाट हेटौंडातर्फ आउदैगरेको बा १७ च ४८७४ नम्बरको स्कारर्पियो जीप मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको देउराली नजिक आज हिान पहिरोले पुरिएको हो । मृत्युहुने जीपका चालक भएपनि उनको पहिचान खुलिसकेको छैन । आजै सोही स्थानमा पहिरोले बा ९७ प ५१४८ नम्बरको मोटरसाइकल समेत पुरेकोमा मोटरसाइकलमा सवार दुईजनाको जिवितै उद्धार गरेर उपचारका लागि काठमाण्डौं पठाइएको इप्रका भीमफेदीले जनाएको छ ।