उत्पादन तथा रोजगारका लागि प्रदेशले सहुलियतपुर्ण व्याजमा तीनअर्ब ऋण लगानी गर्ने

बाग्मती खबर
७ आश्विन २०७७, बुधबार १८:०५

हेटौंडा- वाग्मती प्रदेश सरकारले प्रदेशभित्र प्रसस्त रोजगारी सिर्जनागर्न तथा उत्पादन वृद्धिगर्न उद्यमशीलता गर्न चाहने नागरिकहरुका लागि सहुलियतपूर्ण व्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानीगर्ने कार्य व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न कार्यविधि समेत पास गरेको छ ।
कार्यविधि अनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका नागरिकहरुका लागि लगानीगर्न ३ अर्बको कोष निर्माण गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । कृषि विकास बैंकमार्फत हुने लगानीले देशमा रोजगार, व्यवसाय तथा उत्पादन समेत बढ्ने सरकारले अपेक्षा गरेको छ । लगानी पश्चात सरकारले वेरोजगार युवा जनशक्तिहरुलाई रोजगारमा आवद्ध गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रबद्र्धन गर्ने, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रबद्र्धन गर्ने, कोरोना भाइरसबाट प्रभावित कृषि, पर्यटन एवं रोजगारीमूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनरुत्थान गरिने मन्त्री ढुङ्गेलले जानकारी दिनुभयो । सहुलियतपूर्ण व्याजदरमा ऋण लगानी कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागि सम्बन्धित मन्त्रालयका मन्त्री संयोजक हुनेगरी निर्देशक समिति रहने छ । यसैगरी ऋण लगानी प्रकृया सहजीकरण तथा समन्वय गर्नका लागि सम्बन्धित मन्त्रालयका सचिव संयोजक रहनेगरी समिति बनाइएको जनाइएको छ ।
प्रदेशले कृषि व्यवसाय सम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण सम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रबद्र्धन, व्यापार व्यवसाय, वन तथा वातावरण जन्य उद्योग, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास र फोहरमैला व्यवस्थापन तर्फ ऋण लगानी गर्ने भएको हो ।
त्यसैगरी मन्त्रिपरिषदको आजको बैठकले प्रहरी इकाई भवन निर्माणार्थ बजेट निकासा गर्न स्वीकृत गर्ने , प्रदेश विश्वविद्यालयको भौतिक पूर्वाधार, विधेयक, सङ्गठानात्मक संरचना, तथा पाठ्यक्रमको आधारभूत संरचना समेतका लागि सिफारिस गर्न कार्यदल गठन गरी काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय गरेको मन्त्री ढुङ्गेलले जानकारी दिनुभयो ।