सडक डिभिजन हेटौंडाले २१ वटा ठेक्का सम्झौता अन्त्य गर्यो, १८ वटा निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने प्रक्रिया शुरु

बाग्मती खबर
७ आश्विन २०७७, बुधबार २१:१६

हेटौंडाले- सम्झौता अनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेकोभन्दै विभिन्न निर्माण कम्पनीहरुसँग भएका २१ वटा ठेक्का सम्झौता सडक डिभिजन हेटौंडाले अन्त्य गरेर त्यस्ता कम्पनीहरुलाई कालोसूचिमा राख्ने प्रक्रिया थालेको छ । सम्झौता अनुसारको म्याद समाप्त भएर पटक पटक म्याद थप गरेर पनि लामो अवधिसम्म कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीहरुसँगको ठेक्का सम्झौता तोड्ने निर्णय गरिएको सडक डिभिजन हेटौंडाले जनाएको छ । सडक डिभिजन कार्यालयले सर्तनामा बमोजिम काम गर्न ठेक्का सम्झौता गरेका १७ वटा निर्माण कम्पनिसँगको ठेक्का अन्त्य गरिएको सूचना आज प्रकाशित गरेको हो ।
आर्थिक वर्ष २०६५/६६ देखि ७०/७१ सम्मका ठेक्का सम्झौता गरेर काम नगर्ने कम्पनिसँगको ठेक्का तोड्दै सडक डिभिजन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ बमोजिम बैंक जमानत जफत गरी बाँकी कामको रकम सरकारी बाँकी सरह असुल उपर गर्ने र निर्माण कम्पनिलाई कालो सूचिमा राख्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाइएको छ । मकवानपुर, बारा र पर्सा जिल्लाका विभिन्न योजनाको ठेक्का तोडिएको सडक डिभिजनले जानकारी दिएको छ ।
डिभिजनले मकवानपुरका ७, पर्साका ६, बाराका ३ र काठमाडौंको एक निर्माण कम्पनिसँगको सम्झौता रद्ध गरेको सूचना प्रकाशन गरेर जनाएको छ ।