मकवानपुरमा कोरोना संक्रमण तिब्र, बिहान मात्रै ११४ जनामा संक्रमण पुष्टि

बाग्मती खबर
३० आश्विन २०७७, शुक्रबार ०८:२१

हेटौंडा- भीडभाड बढेसँगै मकवानपुरमा कोरोना संक्रमण तिब्रहुँदै गएको छ । आज बिहान मात्रै जिल्लामा एकसय १४ जनामा संक्रमण पुष्टि भएको छ । गत २८ गते संकलन गरिएको एकसय ९७ जनाको नमूना परीक्षणमा ५७ जना महिला र ५७ जनानै पुरुषहरुमा संक्रमण पुष्टि भएको मकवानपुरका कोरोना फोकल पर्सन भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो । असावधानी बढेसँगै मकवानपुरकामा कोरोना संक्रमण दर समेत बढेको जनाइएको छ । पहिलेको तुलनामा कोरोना संक्रमित बढ्नेक्रम निकै बढ्दै गएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाई बताउनुहुन्छ । मकवानपुरमा बिदेशबाट फर्किएकाहरु र यही रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछि पीसीआर जाँचको कामलाई तिव्रता दिइएको उहाँको भनाई छ । पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको उहाँले बताउनुभयो । हेटौंडाको मुख्य बजार क्षेत्रका टोलटोलमा कोरोना भाइरस संक्रमित देखिएका छन् । घना वस्ती भएका क्षेत्र र मुख्य वजार क्षेत्रमा धेरै संक्रमित देखा परेका हुन् । बजारको तुलनामा मकवानपुरका अरु नौ वटा स्थानीय तहमा अत्यन्त कम मात्र संक्रमित देखा परेका छन् जिल्लामा हेटौंडा बजार क्षेत्रमा संक्रमण व्यापक रुपमा फैलिएको पाइएको छ ।