वाग्मती प्रदेशले कोरोना संक्रमितहरुको उपचार निशुल्क

बाग्मती खबर
४ कार्तिक २०७७, मंगलवार १८:५०

वाग्मती प्रदेश सरकारले कोरोना संक्रमितहरुको उपचार निशुल्क गरिरहेको बताएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले आज एक सन्देश जारी गर्दै प्रदेश सरकार मातहतका सबै अस्पतालहरुमा कोभिड १९ को निशुल्क उपचार भइरहेको जनाएको हो । “प्रदेशका ८ वटा अस्पताल र त्यहाँबाट संचालित आईसोलेशनहरुमा कोरोना संक्रमितहरुको निशुल्क उपचार भइरहेको छ” मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालहरुद्वारा संचालित आईसोलेशन र अन्य स्थानीय तह मार्फत सहकार्यमा संचालित थप १५ वटा आईसोलेशनमा कोरोना सङ्क्रमीतहरुको उपचार निशुल्क भैरहेको छ। प्रदेश सरकारद्वारा संचालित प्रयोगशालामा कोरोना परीक्षण समेत निशुल्क भैरहेको छ मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।