कोरोनालाई परास्त गरेर चाँढै काममा फर्कन्छु – मुख्यमन्त्री पौडेल

बाग्मती खबर
१३ कार्तिक २०७७, बिहीबार १२:१९

हेटौंडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारीको संवेदनशिलतालाई गम्भिरता साथ लिन अनुरोध गर्नुभएको छ । कोरोना संक्रमित भएर उपचाररत मुख्यमन्त्री पौडेलले आज एक सन्देश जारी गर्दै समाजिक दूरी सहित अन्य स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गर्नुभएको हो ।
पौडेलले आफू र आफ्नो श्रीमतीको समेत स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको भन्दै कोरोनालाई चाँढैनै परास्त गरेर नियमित कार्यमा फर्कने उल्लेख गर्नुभएको छ । उहाँले संक्रमण पुष्टि भएपछि गत कात्तिक ७ गतेदेखि श्रीमतीसहित गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा उपचाररत रहेको तथा गत वर्ष गंगालालमै मुटुको एन्जिओप्लाष्टी गरेको जानकारी दिदै उपचाररत रहँदा स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
“आदरणीय अग्रज तथा समकालीन नेतृत्व, आमकार्यकर्ता, कर्मचारी, संचारकर्मी एवम् शुभचिन्तकहरुले मेरो स्वास्थ्य अवस्थाको बारेमा चिन्ता व्यक्त गर्नुभएको छ । उपचाररत रहँदा यहाँहरुको प्रत्यक्ष सम्पर्कमा रहन असमर्थ भएता पनि समाजिक संजाल, मोबाईल एमएमएस र विभिन्न माध्यामबाट यहाँहरुले गर्नुृ भएको स्वास्थ्यलाभको कामनाले हामीलाई कोरोना विरुद्धको लडाईमा थप हौसला र उत्प्रेरणा मिलेको छ । हामी यहाँहरु सबैप्रति आभार ब्यक्त गर्न चाहान्छौं । आवश्यक सुरक्षा प्रोटोकल अपनाउँदा अपनाउदैं पनि हामी कोरोना संक्रमित भयौं । उपचारमा संलग्न सम्पुर्ण स्वास्थ्यकर्मी प्रति धेरैधेरै आभार ब्यक्त गर्दछौं” पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।